काठमाडाैं । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने भएको छ ।
साेमबार बसेकाे संसदीय सुनुवाई समितिको बैठकले कात्तिक २७ गतेका लागि सुनुवाइ मिति ताेकेकाे हाे । अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा सिफारिस गरिएकाे छ । उहाँहरूकाे सुनुवाइ हुन बाँकी छ ।
प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा चारवटा उजुरी परेका छन् । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाइ तोकिएको समितिले जनाएकाे छ । उजुरीकर्तालाई सम्पर्कमा आउन समितिले आजसम्मकाे समय दिएकाे थियाे ।
उजुरी गर्नेहरूले स्पष्ट ठेगाना नखुलाउँदा समस्या भएकाे हाे । यसअघि कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन अनुराेध गरेकाे थियाे ।
अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकामा सुनुवाइ हुन बाँकी छ ।
गत असोज १५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले डा. खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्ले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायत देशका लागि गैह्रआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।
