काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताउनुभएकाे ।
संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रममा बाेल्दै सापकाेटाले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । जनताको जीवनस्तरलाई माथि उठाउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।
आफूहरु चुनौती र अवसरको बीचमा रहेको भन्दै सभामुख सापकाेटाले यो बेला अवसर नै बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयाे - 'हामीले बढी भन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ,संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो ।’
संसद्का समितिहरु बढी सक्रिय हुनुपर्ने भन्दै उहाँले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने बताउनुभयाे । संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताउनुभयो ।
सभामुख सापकाेटाले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताउनुुभयो । उहाँले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कोभिड-१९ अवस्था अनुमानयोग्य नभएको भन्दै अध्यक्ष तिमिल्सिनाले अब यससँगै अभ्यस्त हुनुपर्ने बताउनुभयो । लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उहाँले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गर्नुभयो ।
संघीय संसद्को हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उहाँले त्यसका लागि तयारी भइरहेको जानकारी दिनुभयो । संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उहाँले बताउनुभयो ।
हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्ने बताउनुभयो । यसका लागि कानुन मन्त्रालयले विशेष पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँनुभयाे । संघीय संसद् सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति उहाँले खुसी व्यक्त गर्नुभयाे ।
उहाँले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो । ‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन’- उहाँले भन्नुभयो । तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेश मार्फत ऐन ल्याएको भन्दै उहाँले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसद्को यो अवधिमा कति कानुन निर्माण गर्न सक्यौं, सामाजिक न्यायका लागि कति काम गर्न सक्यौं भनेर समीक्षा गरिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचारमा अगाडि देखाएको विषयलाई ख्याल राख्दै संघ प्रदेश सबैले सचेत भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । संसद्बाट बनाइएका कानुन तल्लो तहसम्म कार्यन्वयनमा लैजान सके मात्रै जनतामा राम्रो सन्देश जाने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु ध्रुबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता छ ।
गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी हुनुहुन्छ भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित हुनुहुन्छ ।आज दिनभरको अन्तरक्रिया पछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत हुनेछ ।
संघीय संसद् सचिवालयको आयोजनामा संघीय संसद् भवन नयाँ बानेश्वरमा सुुरु भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । कार्यक्रम भाेलिसम्म चल्नेछ ।
