काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको संवादहीनता अन्त्य भएको बताउनुभएकाे छ ।
प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा बाेल्दै मन्त्री ज्ञवालीले सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुलेको पनि बताउनुभयाे ।
मानचित्र प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको भन्दै उहाँले भारतीय पक्षबाट भएका पछिल्ला भ्रमणले पनि त्यसलाई पुष्टि गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाल-भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भयो, नक्सा प्रकाशनपछि बन्द रहेकाे संवादहीनता अन्त्य भएको छ ।'
नेपालले सीमा समस्यालाई गम्भीरता साथ उठाउने भन्दै मन्त्री ज्ञवालीले दुवै देश संवादबाटै समाधान खोज्न तयार भएको बताउनुभयाे । 'सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकारेका छन्, नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेण्डाका रूपमा राखेको छ'- उहाँले भन्नुभयाे ।
रअ प्रमुखको भ्रमणलाई ठूलो विषय बनाउन नहुने बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयाे - 'सामन्त गोयल रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन, प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आउनुभएको हो ।'
कालापानी लिपुलेक क्षेत्रमा भारतले सडक बनाएर उद्घाटन गरेपछि द्धिपक्षीय सम्बन्ध चीसो भएको थियो । त्यसपछि भारतले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भित्री चलखेल गरेको थियो । त्यो सम्भव नभएपछि सम्बन्ध सुधारका लागि भारत आफैले पहल थालेको हो ।
रअका विशेष दूत पठाएर नेपाल समक्ष आफ्ना कुरा राखेकाे भारतले त्यसपछि विदेश सचिव हर्षवर्दन श्रृंगलालाई नेपाल पठायाे । अब परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि भारतले प्रस्ताव गरिसकेकाे छ ।
बैठकमा मन्त्री ज्ञवालीले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नियमित प्रक्रिया भएको समेत जानकारी गराउनुभयाे ।
