काठमाडौं । श्रीराम सुगर मिलले उखु किसानको सबै पैसा खातामा पठाइदिने भएकाे छ ।
प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले किसानकाे सबै पैसा खातामा पठाइदिने बताउनुभयाे ।
अग्रवालले अबकाे तीन दिनभित्र उखु किसानको सबै बक्यौता तिरिसक्ने बताउनुभयाे । किसानलाई भुक्तानी दिने उद्योगको खातामा रकम जम्मा गरिसकेको बताउँदै अग्रवालले भन्नुभयाे - 'साे रकम संघको मध्यस्थतामा मिलले भोलिदेखि नै किसानको खातामा पठाउन थाल्ने छ ।'
श्रीरामले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी छ । एक-दुई वटा उद्याेगका कारण अरु चिनी उद्याेगकाे पनि बदनाम भएकाे भन्दै उहाँले किसानको बक्यौता तिर्न बाँकी अरु उद्योगसँग समन्वय गरिरहेको अग्रवालले बताउनुभयाे ।
किसानहरुले आन्दाेलन थालेपछि समितिले उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रालयका सचिव र चिनी उद्योग संघका अध्यक्षसँग छलफल गरेकाे हाे ।
गत वर्ष भएकाे सहमति अनुसार चिनी उद्याेगीले रकम भुक्तानी नगरेपछि उखु किसानहरुले गत आइतबारदेखि काठमाडाैंकाे माइतीघरमा आन्दाेलन गरिरहेका छन् ।
