काठमाडाैं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएकाे छ ।
प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे शुक्रबार बसेकाे बैठकले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएकाे ठहर गरेकाे हाे । समितिले साे प्रकरणमा थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेकाे छ ।
समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई बाेलाएर छलफल गरेकाे हाे । मन्त्री र सांसदहरुसँगकाे छलफलपछि खरिद प्रक्रिया नियमसंगत नभएको निष्कर्षमा समिति पुगेकाे समिति सचिव राेजनाथ पाण्डेले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे -'मन्त्री र सांसदहरुसँगकाे छलफलपछि खरिद प्रक्रिया नियमसंगत नभएको निष्कर्षमा समिति पुगेकाे छ, खरिद प्रक्रियामा सलंग्न पदाधिकारीमाथि दाेषी करार गर्नुपर्ने अवस्था सृजना भएकाले थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय भएकाे छ ।'
स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत ०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
साे प्रकरणमा अनियमितता भएकाे लेखा समितिकाे ठहर छ । अख्तियारले समितिकाे निर्देशन अनुसार छानबिन अघि बढाउने पाण्डेकाे विश्वास छ ।
