काठमाडौं । प्रदेश नं. १ को प्रदेश सभा बैठक माघ ७ बाट सुरु हुने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन बैठक आह्वान गर्नुभएको हो ।
बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा १० बमोजिम बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि प्रदेश नं १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले माघ ७ का लागि बैठक आह्वान गर्न सिफारिश गरेको थियो । सोही सिफारिसको आधारमा प्रदेश प्रमुखले बैठक आह्वान गर्नुभएको हो ।
