काठमाडौं । राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ ।
शुक्रबार अपरान्ह ४ बजेका लागि आह्वान भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनकाे तयारी तीब्र रुपमा अगाडि बढाइएकाे छ । बैठककाे अघिल्लाे दिन आज राष्ट्रिय सभा सदस्यकाे काेराेना परीक्षणका लागि स्वाब संकलन गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
सबै सदस्यको स्वाब संकलन गरिएकाे र भाेलि बैठक बस्नुअघि नै रिपाेर्ट आउने सचिवालयले जनाएकाे छ । रिपाेर्ट नेगेटिभ आएका सांसद्लाई मात्र बैठक कक्षमा प्रवेश गर्न दिइने बताइएकाे छ ।
आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेकाे छ । साे बैठकले राष्ट्रिय सभाकाे पहिलो बैठकमा संसदीय दलका नेताहरुले सम्बोधन गर्ने सहमति गरेकाे छ । बैठकमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ ।
