काठमाडौं । विघठित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकाेटाले संविधानको रक्षाका लागि आफू प्रतिबद्ध रहेकाे बताउनु भएको छ ।
विभिन्न राजनीतिक दलमा आबद्ध महिला सांसद्हरूको ध्यानाकर्षण पत्र बुझ्दै सापकाेटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नै दाेहाेर्याउनुभयाे । सापकाेटाले भन्नुभयाे - 'हाम्राे संविधानले हालकाे परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नै दिएकाे छैन ।'
पुस ८ गते विज्ञप्तिमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । संविधानको रक्षा तथा देश र जनताको हितमा आफू सधै समर्पित रहने प्रतिवद्धता पनि उहाँले जनाउनुभयाे । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि विभिन्न व्यक्ति तथा विज्ञसँग परामर्श गरिरहेकाे पनि सापकाेटाले जानकारी गराउनुभयाे ।
सर्वोच्च अदालतमा पनि साेही अनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको सापकाेटाले महिला सांसद्हरुसँग बताउनुभएकाे उहाँका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले जानकारी दिनुभएकाे छ ।
महिला सांसद्हरुले मध्यावधि निर्वाचन आवश्यक नभएकाे, चुनावका विकास निर्माण र काेराेना राेकथाम तथा नियन्त्रण प्रभावित हुने भन्दै सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
