काठमाडाैं । प्रदेश नम्बर १ का १५ जना सांसद् निलम्बनमा परेका छन् ।
स्पष्टिकरण नदिएपछि मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई तीन महिनाका लागि निलम्बन गर्नुभएकाे नेकपाका प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले सनराइज खबरलाई बताउनुभयाे ।
मुख्यमन्त्री राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसद्लाई तीन महिनाका लागि निलम्बन गर्नुभएकाे हाे ।
राजभण्डारीका अनुसार मुख्यमन्त्री राईले १९ जना सांसद्सँग जानकारी नै नदिइ अविश्वास प्रस्ताव दर्ता गर्नुकाे कारणबारे स्पष्टिकरण माग्नु भएकाे थियाे ।
'४ जना माननीयले हामी पछि माैखिक जवाफ दिन्छाैं भन्नुभयाे, अरु १५ जनाले स्पष्टिकरण नै दिन मान्नुभएन, त्यसकारण मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले ३ महिनाका लागि उहाँहरुलाई निलम्बन गर्नुभएकाे छ'-वुद्धिकुमारले भन्नुभयाे ।
भीमप्रसाद आचार्य, टंक आङबुहाङ लिम्बु, राजेन्द्रकुमार राई, मोहनकुमार खड्का, लिलावल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोधा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, सविता थापा, सावित्राकुमारी रेग्मी निलम्बनमा पर्नुभएकाे हाे ।
निलम्बनमा परेका सांसद्काे सूची प्रदेश सभा सचिवालयमा दर्ता भइसकेकाे पनि राजभण्डारीले बताउनुभयाे । प्रचण्ड माधव समूहले निलम्बनमा पर्नुभएका सांसद् भीमप्रसाद आचार्यलाई संसदीय दलकाे नेता छानेकाे छ ।
