काठमाडाैं । वाग्मती प्रदेशको प्रदेश सभा बैठक माघ ७ गते बस्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बैठक बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई सिफारिस गरेकाे हाे ।
गत साउन ८ गते देखि वाग्मती प्रदेश सभा बैठक बस्न सकेकाे थिएन । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सातौं अधिवेशन सुरु हुने-नहुने अन्याैल थियाे । साेही अन्याैलबीच मन्त्रिपरिषद्ले प्रदेश सभा बाेलाउन सिफारिस गरेकाे हाे ।
गत ८ साउन मा प्रदेश सभाको छैटौं अधिवेशन स्थगित भएको थियो ।
