काठमाडाैं । 'मैले यहाँ उपस्थित सबैको मुटु छामेको छु, अनुहार बढेको छु पार्टी विभाजनकाे संघारमा पुग्दा कोही खुशी छैन'- राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले भन्नुभयाे ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद् शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनकाे मुखमा पुग्दा आफू मात्र नभएर सबै दुखी भएकाे बताउनुभयाे ।
प्रचण्ड-माधव समूहका नेता समेत रहनुभएकाे सांसद् शर्माले नेकपा औपचारिक रूपमा विभाजन नभए पनि फुटको संघारमा रहेको बताउनुभयाे । राजनीतिक स्वार्थका लागि नेकपा विभाजित भएको शर्मा बताउनुभयाे ।
'कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन भएको होइन, पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ, मैले मुटु फुटेको अनुभव गरेको छु'- उहाँले भन्नुभयाे ।
सांसद् शर्माले नेकपा उपाध्यक्ष वामदेव गाैतमलाई पार्टी एकता जाेगाउनका लागि शुभकामना दिनुभयाे । 'वामदेवले पार्टी फुट्न दिन्न भन्नु भएको छ, पार्टीलाई जाेडाउनका लागि उहाँको अभियान सफल रहोस् शुभकामना छ'- उहाँले भन्नुभयाे ।
गाैतमको उपस्थितिले सभाको गरिमा बढाएको भन्दै उहाँले सभामा स्वागत गर्न पाउँदा खुशी लागेकाे बताउनुभयाे । गाैतम असोज १ गते राष्ट्रिय सभा सदस्य नियुक्त हुनुभएकाे थियाे ।
प्रतिनिधि सभा विघटन हुनु दुखद भएकाे पनि उहाँले बताउनुभयाे । पार्टी लगभग विभाजित भएको र प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा अहिले चलिरहनु पनि सुखद पक्ष रहेकाे उहाँले बताउनुभयाे । 'प्रतिनिधि सभा नभएको सन्दर्भमा यसको महत्त्व र गरिमा उचो भएकाे छ'-शर्माले भन्नुभयाे ।
