काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रतिनिधि सभा विघटनमा सर्वाेच्चको फैसला मानेर अगाडि बढ्ने बताउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशनकाे पहिलाे बैठकमा बाेल्दै सांसद् देवले भन्नुभयाे - 'यसमा सर्वोच्च अदालतले जे निर्णय गर्छ, नेपाली कांग्रेसले अदालतको फैसला मानेर अघि बढ्छ ।'
प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएकाे देवले बताउनुभयाे । पाँच वर्षका लागि चुनिएको प्रतिनिधि सभा विघटन भएको यो अवस्था नेपाली राजनीतिको निकै विशिष्ट अवस्था रहेको बताउनुभयाे । संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएकाे उहाँले बताउनुभयाे ।
अहिले प्रतिनिधि सभा र राष्ट्रियसभा सँगै सञ्चालन हुनुपर्ने भएपनि त्यसाे नभएकाे भन्दै उहाँले भन्नुभयाे - 'राष्ट्रिय सभा बैठकसँगै प्रतिनिधि सभा बैठक पनि हुनुपर्ने थियो, प्रतिनिधि सभा विघटन गराइएको अवस्था छ, संघीय संसद्को एउटा अंग मृत्यु शय्यामा छ ।'
राजनीतिक स्थायित्व कायम गर्ने संवैधानिक संरचना खडा गर्नुपर्ने उहाँले बताउनुभयाे । सांसद् देवले सालैपिच्छे सरकार फेरबदल हुने र विघटन गर्न सक्ने प्रावधान संविधानमा राख्न नहुने बताउँदै उहाँले भन्नुभयाे - 'यस्तो राजनीतिक संरचना संविधानमा खडा गरौं मुलुकको राजनीतिले एउटा स्थायित्व पाओस् ।'
नेपाली जनताको ठूलो त्याग र तपस्या बलिदानबाट प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमf पर्ने खतरा रहेकाे पनि उहाँले बताउनुभयाे । उहाँले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयाे ।
