काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बैठक आजबाट सुरु हुँदैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरेका थिए । जनसरोकारका विषयमा छलफल गर्न विशेष अधिवेशन माग गरिएको हो ।
विशेष अधिवेशनको लागि नेपाली कांग्रेसका १५ र जनता समाजवादी पार्टीका दुई सांसदले हस्ताक्षर गरी बुझाउनुभएको थियो । सोही अनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको हो । विशेष अधिवेशनको लागि एक चौथाई सांसदले लिखित रुपमा हस्ताक्षर बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
गण्डकी प्रदेशसभामा कूल ६० जना सांसद छन् । नेकपाका सभामुख सहित ४० जना संसद छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई जना सांसद छन् ।
नेकपाको ओली पक्षमा २७ र प्रचण्ड–माधव नेपाल समूहमा १२ जना सांसद छन् । सरकारलाई जनमोर्चाको समेत समर्थन रहेकोले प्रदेश सरकार भने अहिले अप्ठेरोमा छैन ।
