काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम नभएको बताउनुभएको छ ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले भन्नुभयाे- 'लोकतन्त्रमा प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको संवैधानिक अधिकार हाे।'
विगतमा पनि आफ्नै पार्टी भित्रबाट आफ्नो पुत्ला जलाउन थालेपछि गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेको स्मरण गराउँदै गुरुङले अहिले पनि त्यही अवस्था आएको बताउनुभयो । पार्टीका नेताको स्वार्थको कारण बहुमत प्राप्त प्रधानमन्त्रीले काम गर्न नपाएपछि विघटन गरिएको उहाँकाे भनाई छ ।
सार्वभौमसत्ता जनताको बहुमत प्राप्त सरकार प्रमुखले पार्टी भित्रको सौदाबाजीमा नफसी जनताको बीचमा जान्छु भन्नु सबैभन्दा लोकतान्त्रिक कदम भएको उहाँले बताउनुभयो । लोकतन्त्रमा जनतामा जान संविधानमा वा कुनै कानुनमा लेख्नु नपर्ने उहाँले जिकिर गर्नुभयो । ‘जनता सार्वभौम हुन्, जनताको माझमा जान कसैले रोक्न सक्दैन’, गुरुङले भन्नुभयो ।
चुनाव नै लोकतान्त्रिक विधि भएको उहाँकाे भनाई छ । ‘नेता बीचमा सौदाबाजी गरेर, पद बाँडेर, सांसद्लाई भेडाबाख्रा जस्तो किनबेच गरेर संसदीय फोहोरी खेलमा जानु भन्दा जनता बीच जानु सबैभन्दा लोकतान्त्रिक विधि हो’, गुरुङले भन्नुभयो ।
चुनावले जनताको बीचमा जाने ढोका सबैको लागि खुलेको उहाँकाे भनाई छ । चुनाव सबैको लागि अवसर भएको समेत उहाँले बताउनुभयाे । जहिले पनि सरकारलाई असहयोग गर्ने नेता ठीक कि प्रधानमन्त्री ठीक भन्ने कुरा पार्टीले छुट्याउन नसकेकाले जनताको माझमा जान लागिएको उहाँले बताउनुभयो ।
आफू अनुकूल काम नभएको भन्दैमा गणतन्त्रको प्रतिकको रुपमा रहेको राष्ट्रपतिको आलोचना गर्नु अनुचित भएको गुरुङको भनाइ छ । राष्ट्रपतिको बद्नाम गर्नु भनेको गणतन्त्रकै अपमान भएको उहाँकाे ठहर छ । ‘राष्ट्रपति प्रतिकात्मक मात्र हो, आफैंले निर्णय गर्ने कुनै अधिकार हुँदैन, यस्तो संस्थालाई आलोचना गरियो भने गणतन्त्र कसरी बलियो हुन्छ ?’, गुरुङले प्रश्न गर्नुभयाे ।
करिब दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताको कारण काम गर्न नपाउनु दुःखद कुरा रहेकाे उहाँले बताउनुभयो । यसको विकल्प जनताले मात्र दिने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
संसदीय दलको विधानले संसदीय दलको नेतालाई जानकारी नै नदिई गतिविधि गर्ने सांसद् माथि कारबाही हुने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई जानकारी नै नदिई प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजाने सांसद् माथि कारबाही हुनुपर्ने उहाँकाे भनाई छ ।
प्रधानमन्त्रीले देशमा आउने सक्ने अस्थिरता र वेथिति अन्त्यको लागि विघटन गरेको उहाँकाे भनाई छ । देश निर्वाचनमा गइसकेकाले उहाँले सबैलाई चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले कोरोनाको उचित व्यवस्थापन गर्न सकेकोले गण्डकी प्रदेशको अर्थतन्त्रलाई शून्यमा झार्नबाट जोगाइएको बताउनुभयो । स्वास्थ्य सेवा विस्तारको लागि ऐतिहासिक काम भएको पनि गुरुङले जानकारी दिनुभयो ।
कोभिड–१९ को विरुद्ध साझा रुपमा लड्ने विषयमा सो प्रदेशका चारवटै प्रमुख दलले संकल्प प्रस्ताव पास गरेको पनि उहाँले प्रदेश संसदलाई जानकारी दिनुभयो ।
