काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुँदै छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुन लागेको हो ।
प्रतिनिधि सभा विघटन असंवैधानिक कार्य भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन् । ती रिटमाथि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भने भइसकेको छ ।
प्रारम्भिक सुनुवाइ पछि पुस १० गते संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो । दुबै कार्यालयले सर्वोच्च अदालतमा यसको जवाफ पठाइसकेका छन् ।
मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य रहेको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । सो मुद्दामा अदालतलाई सघाउन एमिकस क्युरी समेत गठन भएको छ ।
