काठमाडाैं । वाग्मती प्रदेशले प्रदेश सभा बैठक आह्वान गरेको छ । माघ ७ गते दिउँसाे ३ बजेका लागि प्रदेश सभाको सातौं अधिवेशन आह्वान भएको हो ।
प्रदेश सभाकाे सचिवालयले आज सूचना निकालेर माघ ७ गते प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ । पुस १७ गते बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णु प्रसाईंलाई सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेश मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा बैठक आह्वान गर्ने संवैधानिक प्रावधान छ । प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्ने बैठकमा उपस्थित हुन सबै प्रदेश सभा सदस्यलाई अनुराेध गरिएकाे छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड समूहले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सातौं अधिवेशन सुरु हुने-नहुने अन्याैल थियाे । साेही अन्याेलबीच बैठक बस्न लागेकाे हाे ।
