काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रतिनिधि सभा विघटन रहर र लहरले नगरिएकाे बताउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले भन्नुभयाे - 'प्रधानमन्त्री केपी शर्मा ओलीले भारी मन लिएर गर्नुभएकाे काम हाे, खुशीले गरेको काम होइन कठिन स्थितिको बाध्यात्मक कदम हो ।'
प्रतिनिधि सभा विघटन र चुनावको तिथिमितिको घोषणालाई लिएर विभिन्न ढंगले बहस र विश्लेषण गर्ने गरिएको बताउँदै उहाँले भन्नुभयाे - 'कुनै पनि तानाशाह र निरंकुश शासक चुनावको तिथिमिति तोकेर जनताको माझमा जाँदैन ।' प्रधानमन्त्री ओली निरंकुशता, अधिनायकवाद र तानाशाहतर्फको यात्रामा रहेको भन्नु पूर्वाग्रहपूर्ण दृष्टिकोण रहेकाे उहाँकाे भनाइ छ ।
'कतिपय पार्टी, व्यक्ति र समूहले प्रधानमन्त्रीकाे यस कमदलाई निरंकुश, अधिनायकवाद र तानाशाहतर्फको यात्राको रुपमा अर्थ्याउने र भ्रम छर्ने कोशिस गरिरहेका छन्, यो आग्रहपूर्ण दृष्टिकोण हो, कुनै पनि तानाशाह तिथिमिति तोकेर चुनावमा जाँदैन, जनता माझमा जाँदैन'-उहाँले भन्नुभयाे ।
जनप्रतिनिधि मूलक संस्थामध्ये प्रतिनिधि सभा मात्र विघटन भएको भन्दै उहाँले राष्ट्रिय सभा र प्रदेश सभा सबै क्रियाशील अवस्थामा रहेकाले सबै सकियाे भन्न नहुने उहाँले बताउनुभयाे । 'सत्यानाश भयो भनेर जसरी प्रचार गरिएको छ, स्थिति त्यस्तो होइन, जनप्रतिनिधि मूलक संस्थाहरु चालु अवस्थामा विद्यमान छन्'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न सक्ने बताउँदै उहाँले भन्नुभयाे - 'विघटनका विषयमा संविधानमा व्यवस्थै छैन भन्ने गलत हो, कुनै बहुमतको प्रधानमन्त्रीले आफ्नो सरकारले काम ठान्दछ र संसद्मा वैकल्पिक शक्ति देख्दैन, उसले विघटन गर्न पाउँछ ।'
राजनीतिक इतिहासमा दलीय प्रवृत्तिको पुनरावृत्ति भएको भट्टराईकाे भनाइ छ । एउटा शक्तिशाली सरकार विरुद्ध बन्चरो चलाउने काम आफ्नै पार्टी भित्रका केही नेताबाट भएपछि जनादेशमा जाने निर्णय भएकाे उहाँले बताउनुभयाे ।
अहिले केपी ओलीले व्यहोर्नुपरेको पीडा इतिहासमा वीपी कोइरालाले पनि व्यहाेर्नुभएकाे उहाँले स्मरण गराउनुभयाे । पार्टी भित्रैबाट सरकारलाई काम गर्न नदिएकाे उहाँले बताउनुभयाे । ‘काम गर्न दिइएन, सरकारलाई कसरी कमजोर बनाउने भनेर गतिबिधि भए, सरकारले काम गर्नै नसक्ने परिस्थिति बन्यो’- उहाँले भन्नुभयाे ।
