काठमाडाैं । 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले घेराबन्दीमा पार्याे ?'- याे प्रश्न हाे जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवकाे ।
बिहीबार राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सिंहले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्रीलाई कसले पार्यो घेराबन्दीमा ? चुच्चे नक्सा ल्याउँदा के प्रतिपक्ष र सत्तापक्ष सबैले साथ दिएको होइन ? कुन विषयमा गर्यो सदनमा उहाँलाई घेराबन्दी ?’
सांसद् प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएकाे बताउनुभयाे । प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने र सर्वाेच्चले उचित निर्णय गर्ने उहाँकाे भनाइ छ ।
प्रतिनिधि सभा विघटनको कदमबाट पछि हट्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै उहाँले भन्नुभयाे - 'मिल्छ भने प्रतिनिधि सभा विघटन फिर्ता लिइयोस् ।' पार्टीमा देखिएको झगडाको बहानामा प्रतिनिधि सभा नै विघटन गर्ने कदम घरमा आगो झोसे जस्तै भएकाे बताउँदै उहाँले भन्नुभयाे -'श्रीमतीसँग, बुवासँग झगडा भयो भने सिंगै घर नै आगो लगाएर जलाइदिने ?'
