काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दैछ ।
दिउँसाे बस्ने बैठकमा दिगो विकास तथा सुशासन समितिकाे प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची छ । समिति सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६-७७ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
दिउँसाे १ बजे बस्ने हिउँदे अधिवेशनकाे तेस्राे बैठकमा सांसद्हरूले समसामयिक विषयमा आ-आफ्ना विचार राख्ने बताइएकाे छ । राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन पुस १७ गतेदेखि सुरु भएकाे हाे ।
पहिलाे र दाेस्राे बैठकमा राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधि सभा विघटनबारे बाेल्नुभएकाे थियाे । प्रधाानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावकाे मिति ताेक्नुभएकाे थियाे ।
संघीय संसद्ले कानुन निर्माण, संशोधन लगायत काम गर्छ तर प्रतिनिधि सभा विघटन भएकाे अवस्था भएकाले राष्ट्रिय सभाबाट मात्र यी काम पूर्ण हुन सक्दैनन् ।
किनकी राष्ट्रिय सभाले बनाएका कानुन प्रतिनिधि सभाबाट पारित भएपछि मात्र अन्तिम रूप पाउँछन् । त्यसकारण राष्ट्रिय सभाकाे अधिवेशन चाँडै अन्त्य गर्ने तयारी गरिएको बताइएकाे छ ।
