काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा नारायणकाजी श्रेष्ठले संविधानका केही धारा पढेर सुनाउनुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको विरोधमा पूरै सयम खर्चनुभएका सांसद् श्रेष्ठले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर संविधानको ठाडो उल्लंघन गर्नुभएको श्रेष्ठले बताउनुभयो । संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नुभएको उहाँले बताउनुभयो ।
संविधानमा भएका विकल्प प्रयोग नगरी एउटा धारा मात्र हेरेर विघटन गर्नु प्रतिगमन भएको भन्दै उहाँले भन्नुभयो – ‘यसले कतै समग्र प्रतिगमनको आधार तय गर्ने अवस्था आउन सक्छ भन्ने देखिएको छ ।’
राजनीतिक पार्टीको आन्तरिक मामिलालाई लिएर संविधानको हत्या गर्न नपाइने उहाँको भनाइ छ ।
