काठमाडौं । 'तपाईंहरुका घरमा छाेरी छैन ? तपाईंहरुका बहिनी छैनन् ? तपाईंहरुकाे श्रीमती छैन ? उहाँहरुकाे व्यक्तिगत सामाजिक जीवन छैन ?' सांसद् दिलकुमारी रावल थापा पार्वतीकाे प्रश्न हाे याे ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारावाजी गर्ने प्रचण्ड समूहका नेतालाई पार्वतीले याे प्रश्न गर्नुभएकाे हाे । राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् उहाँले केही दिन अघि प्रचण्ड समूहले गरेकाे भेलामा राष्ट्रपति भण्डारीमाथि अश्लील शब्दहरु प्रयाेग भएकाेमा उहाँले आपत्ति जनाउनुभएकाे हाे ।
राष्ट्रपति भण्डारीकाे अस्मितामाथि प्रहार भएकाे भन्दै उहाँले यसलाई सांस्कृतिक विचलनको पराकाष्ठकाे संज्ञा दिनुभयाे । 'राष्ट्रपतिमाथि जुन अपमान भएको छ, यो क्षमा योग्य छैन' -उहाँले भन्नुभयाे । दाेषीलाई कडा कारवाही गर्न उहाँले माग गर्नुभयाे । 'यस्ता अपराधपूर्ण कार्यमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याएर कडा भन्दा कडा कारवाही गरेर वर्तमानमा देखिएको अराजकता, अपराधको पराकाष्ठलाई नियन्त्रण गर्नुस् सरकार'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध षडयन्त्र गर्नेहरुले सडकमा गएर आफ्नाे परिचय आफैं दिएकाे बताउनुभयाे । भेलामा प्रयाेग भएका नाराहरुले नै षडयन्त्रकारीहरुकाे बयान गरेकाे उहाँकाे ठहर छ ।
विघटनको विषय अदालतमा संवैधानिक इजलासको विषय बनेको भन्दै उहाँले अदालतकाे फैसला कुर्न सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे- 'अदालतको फैसला कुर्नु पर्ला नि ? मान्नपर्ला नि ? अनि किन सडकमा रुवाबासी ? सडकमा भन्दा जनताको वीचमा जानु नै हितकार हुने उहाँले बताउनुभयाे । प्रतिनिधि सभा पुर्नस्थापनाको लागि रुवाबासी गर्नुभन्दा जनतका वीचमा गएर जनताका प्रश्न सोधेका प्रश्नको जवाफ दिएर भोट माग्नु नै उचित हुने उहाँकाे भनाई छ । ' जनताको वीचमा गएर प्रम बन्ने इच्छा पुरा गर्दा ठिक होला ? आँट गर्नुस हिम्मत गर्नुस चुनाव जित्नुहोस् । प्रम बनेर देखाउनुहोस' - उहाँले भन्नुभयाे ।
