काठमाडौं । सांसद् देवेन्द्र दाहाल प्रमुख प्रतिपक्षी कांग्रेससहित नेकपाभित्रका प्रतिपक्षी चुनावमा जान डराएको बताउनु भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् दाहालले भन्नुभयो – ‘जनताका प्रश्न सामना गर्न नसक्ने भएपछि उहाँहरु चुनावमा जान डराइरहनु भएको छ ।’
प्रतिनिधि सभा विघटन भएर चुनावमा जाने कुरा संसदीय इतिहासकै नयाँ अभ्यास भएको बताउँदै उहाँले प्रतिपक्षीका लागि त सुनौलो अवसर भएको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो – ‘कांग्रेसका लागि त कम्युनिष्टले पूरै समय सरकार चलाउन सकेनन् हामीलाई भोट दिनुस भनेर जनताबीच जाने सुनौलो अवसर होइन र ?’
कांग्रेसहित नेकपाभित्रका प्रतिपक्षी जनताकै जवाफ दिन नसक्ने भएर चुनावमा जान डराएका उहाँले बताउनुभयो । ‘प्रमुख प्रतिपक्षी सहित अरु प्रतिपक्षी साथीहरु किन जनतामा जान किन खुट्टा कमाइरहनु भएको छ ? जनतालाई जवाफ दिनुपर्छ भनेर होला ?’
कांग्रेसलाई जनताले सोध्ने प्रश्न पनि दाहालले सुनाउनुभयो । तपाईंहरु पनि नचिनेको विश्व होइन भनेर जनताले सोध्नेछन् ? तपाईंहरुले पनि छँदाखाँदाको बहुमतको सरकार र प्रतिनिधि सभा विघटन गरेको होइन ? भनेर सोध्नेछन् ।’
सरकारले भ्रष्टाचार गर्यो भनेर भनिरहने कांग्रेसका धेरै नेता नै भ्रष्टाचारको आरोपमा जेल पुगेका उहाँले बताउनुभयो । सत्तापक्षका एकथरी नेताहरु प्रतिनिधि सभा विघटन भयो भनेर सडकमा निस्केर अनधिकृत बैठक राखेर फलानालाई निकाल्ने–राख्ने नाटकीय गतिविधिमा लागेको उहाले बताउनुभयो ।
हिजो केपी ओलीको नेतृत्वमा जनताको अपार जनसमर्थन प्राप्त भएको र अब जनताले नपत्याउने हुन कि भनेर डराएका उहाँले बताउनुभयो । ‘अब आफ्नो नेतृत्वमा जनहर ल्याउने अवसर होइन र चुनाव ? उहाँहरु चुनावदेखि किन खुट्टा कमाउनुभएको छ ?’
ओलीबिना चुनावमा जान डराएर पुरानो जोड घटाउबाटै प्रधानमन्त्री बन्ने अभ्यासमा प्रचण्ड-माधव लाग्नुभएको उहाँले बताउनुभयो । दुई वर्ष भएपनि सजिलो बाटोबाट सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने सोच उहाँहरुमा रहेको दाहालले बताउनुभयो ।
‘उहाँहरुलाइै पनि जनताले सोध्नेछन् छँदाखाँदाको करबि दुईतिहाइको बहुमतको सरकार ढालेर अविश्वासको प्रस्ताव राख्ने तपाइहरु नै होइन र ? यसअघि ओलीकै नेतृत्वमा रहेको वामपन्थी सरकार ढालेर कांग्रेससँग गठबन्धन गर्ने तपाइहरु होइन र ? त्यसकारण यी दुई शक्ति चुनावबाट डराएको लाग्छ ।’
सरकारले काम गरेकाे भन्दै उहाँले केपी ओलीकाे नेतृत्वमा जनतामाझ जाने उद्घाेष गर्नुभयाे । सरकारका कामकाे विवरण सुनाउँदै उहाँले कामै गर्न नदिएपछि फेरि आयाैं भनेर जनतामाझ गइने बताउनुभयाे । ओली नेृत्वकाे पार्टीले भाेलि पनि बहुमत ल्याएर सरकार बनाउन सक्ने उहाँले बताउनुभयाे ।
देशमा कुनै प्रतिगमन नभएकाे र सामान्य अवस्थामा रहेकाे भन्दै चर्चामा आउनका लागि नाटक नगर्न अनुराेध गर्नुभयाे ।
