काठमाडाैं । सांसद् भगवती न्याैपानेले सर्वाेच्च अदालतमा विचाराधीन विघटनकाे पक्ष र विपक्षमा बहस गर्न आवश्यक नरहेकाे बताउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे अाजकाे बैठककाे विशेष समयमा बाेल्दै सांसद् न्याैपानेले सर्वाेच्चले संविधान अनुसार फैसला गर्ने बताउनुभयाे । सर्वाेच्चलाई प्रभावित गर्ने गरी प्रस्तुत नहुन आग्रह गर्दै उहाँले भन्नुभयाे - 'सर्वाेच्चकाे फैसलालाई हामी सबैले सम्मान गर्नेछाैं । त्यसैले विचाराधिन विषयलाई प्रभावित गर्न नखाेजाैं ।'
दलरूबीच सरकार गिराउने हर्कत थाल्नु व्यवस्था माथिकै प्रहार बताउँदै उहाँले साेही व्यवस्था जाेगाउनका लागि गरिने निर्णयमा प्रश्न उठाउन नहुने बताउनुभयाे ।
'जब दलहरुभित्र प्रदूषित खेल सुरु हुन्छ, जब दलहरुभित्र सरकार गिराउने हर्कतका विभिन्न खालका दुषित खेलहरु सुरु हुन्छ त्यसले सिंगो राष्ट्रिय राजनीतिलाई प्रभाव पार्छ, त्यसले सरकार सञ्चालनलाई प्रभाव पार्छ, त्यसले सिस्टमलाई प्रभाव पार्छ, व्यवस्थामा प्रभाव पार्छ' - उहाँले भन्नुभयाे ।
०४८ सालदेखिका सरकार अस्थिर हुँदै गएका बेला गत चुनावमा राजनीतिक स्थिरताका लागि दुई ठूला कम्युनिष्ट पार्टी मिलेकाे नेकपालाई जनताले दुईतिहाइ बहुमत दिएका उहाँले स्मरण गर्नुभयाे । तर सरकारले काम गरिरहेकै बेला पार्टीभित्रैबाट भएकाे प्रहारलाई सबैले बुझेका सांसद् न्याैपानेले बताउनुभयाे ।
सरकारले गरेका कामलाई ओझेलमा पारेर प्रधानमन्त्रीकाे कुर्सी मात्र ताक्ने पार्टीका केही नेताकै कारण अहिलेकाे अवस्था आएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्रीलाई असफल बनाउन पार्टीभित्रकै केही नेताले २ सय भन्दा धेरै पटक गुट भेला गरेका उहाँले बताउनुभयाे ।
'जब पार्टीभित्र सरकारले गरेका काम, राष्टियताका काममा प्रधानमन्त्रीका भूमिकालाई पार्टीकै नेताले देख्नुभएन, प्रधानमन्त्रीको कुर्सी मात्र देख्नुभयो, पार्टीको नेतृत्वलाई कसरी हत्याउने भन्ने गन्ध खेलमात्रै भए, प्रधानमनत्रीलाई असफल बनाउन २ सयभन्दा धेरै पटक गुट भेला भए, तब आजकाे स्थिति आयाे ।'
प्रधानमन्त्री ओलीले एकता महाधिवेशनपछि मैले विदा लिन्छु भनेर सरकारका कामलाई अगाडि बढाइरहेका बेला सहमति विपरित बहुमत र अल्पमतका कुरा निकालेर पार्टीकै केही नेताबाट अनेक हर्कत गरिएका उहाँले बताउनुभयाे ।
प्रधानमन्त्रीले म सिस्टमबाट आएकाले महाधिवेशनपछि युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु अहिले मिलेरै जाउ भन्दा पनि पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपालहरूले अटेर गर्नुभएकाे न्याैपानेले बताउनुभयाे । सरकारले गरेकालाई प्रधानमन्त्रीले मात्र जस लिनेजसरी प्रचार गरिएकाे उहाँकाे भनाइ छ ।
व्यवस्था परिवर्तनका लागि विभिन्न आन्दोलनबाट उदाएको चम्किलो योद्धा, राष्ट्रियताका सवालमा महत्वपूर्ण भुमिका खेलेको योद्धा र भारतीय नाकाबन्दी विरूद्ध सतिसालझै उभ्भिएको योद्धालाई गुमेको भुमि नक्सामा प्रकाशित गरेपछि असफल पार्न षडयन्त्र थालिएकाे उहाँले बताउनुभयाे ।
पछिल्लाे पटक आफ्नै सरकार असफल बनाउन आफ्नै पार्टीका नेताहरूले प्रदुषित खेल खेलेर संकट सृजना गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशमा जाने निर्णय गर्नुभएकाे भगवतीले बताउनुभयाे ।
'पछिल्ला दिनमा आफ्नै सरकार असफल बनाउन प्रदूषित खेलहरू भए, राष्ट्रियतामाथि वैदेशिक चलखेल गर्ने परिदृश्य देखिए, संसद् खरिद बिक्री गरेर सरकारलाई ढाल्ने षड्यन्त्र सुरू भएपछि संविधान जोगाउन, व्यवस्था जोगाउन प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर जनादेशमा जाने निर्णय गर्नुभयाे' - भगवतीकाे भनाइ छ ।
सबैलाई चुनावमा जान आग्रह गर्दै सांसद् न्याैपानेले भन्नुभयाे - 'चुनावमा जाउँ अनि तपाईंहरूले पनि भन्न पाउनुहुन्छ धरहरा इञ्जिनियले बनाए, बाटाे मजदूरले बनाए ।'
राष्ट्रपति विद्यादेवी भण्डारीमाथिकाे अपमान खेदजन्य भएकाे भन्दै उहाँले निन्दा गर्नुभयाे ।
