काठमाडाैं । 'देश, जनता र राष्ट्रका लागि आफ्नाे सर्वस्व सुम्पने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंका गर्नु गलत हाे' - सांसद् काेमल वलीकाे भनाइ छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् वलीले भन्नुभयाे - 'जो व्यक्तिले आफ्नो जीवन देश र जनताका लागि सुम्पेकाे छ, सबै सम्पत्ति भौतिक शरीरपछि राष्ट्रका नाममा लेखिदिएको छ त्यो व्यक्ति कदापी भ्रष्ट हुन सक्दैन, जुन व्यत्तिले हामी पुराना भयौं अबको राजनीति युवा पुस्तालाई दिनुपर्छ भन्छ त्यो व्यक्ति कदापी महत्वाकांक्षी पनि हुन सक्दैन ।'
जनतामाझ जाने व्यक्ति अधिनायकवादी हुन नसक्ने बताउँदै वलीले भन्नुभयाे - 'जो व्यक्तिले म बहुमतको सरकारमा छु, मैले काम गर्ने वातावरण मिलेन, जनताले मलाई नासो सुम्पिएका थिए म मेरो नासो लिएर परीक्षणका लागि तिनै जनतासमक्ष जान्छु भनेर जनतामाझ जानु त्यो अधिनायकवादी कदापी हुन सक्दैन ।'
राष्ट्रियताका पक्षमा चट्टानी अडान लिने प्रधानमन्त्रीमाथि शंका गर्नु गलत रहेकाे सांसद् वलीकाे भनाइ छ । पहिला केपी ओली ठिक लाग्नेहरू अहिले विराेधमा उत्रिएका सुनाउँदै उहाँले भन्नुभयाे - 'केही समय अघि प्रधानमन्त्रीकै मन्त्रिपरिषद्मा रहेका मन्त्रीले भन्नुभएको थियो केपी ओली त्यो नेता हो जो गोलघरको कालकोठरीमा ४-५ फिटको जमिनमा हत्कडी र नेल लगाएर त्यस्तो ठाउँमा ६-७ वर्षसम्म राजनीतिका लागि आफ्नो जीवन समर्पण गर्ने व्यक्ति हो, उहाँमाथि शंका गर्नुहुँदैन, शंका गरे फलदायी हुँदैन भनेर ।'
यस्ता दृष्टान्तलाई व्यवस्थित गर्नुका साटाे सरकार र पार्टीकै विराेधमा हराएजस्ताे गरेर सडकमा बस्नु गलत रहेकाे उहाँले बताउनुभयाे । 'यस्ता दृष्टान्तसामु त्यसलाई व्यवस्थित गर्ने कि हामी यहाँ छौं भनेर लेखेर बस्ने ?' - वलीकाे प्रश्न छ ।
जसकाे नेतृत्वमा संविधान जारी भयाे त्यही व्यक्तिलाई राष्ट्रिय सभाबाट संविधान पढ्न पठाउँनु गलत भएकाे पनि उहाँले बताउनुभयाे । 'पहिलो संविधान सभाले संविधान बनाउन सकेन दोस्रोले पनि बनाउँछ भन्ने विश्वास थिएन जनतामा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व लिनुभएपछि संविधान जारी गर्न सम्भव भयो, संविधान जारी गर्ने व्यक्तिलाई राष्ट्रिय सभाबाट संविधान पढ्न पठाउनु कठै हुटिट्याउँले सगर आटेका सायद यसैलाई भन्छन् होला'-वलीकाे भनाइ छ ।
संविधान जारी हुन नदिन अनेकाैं चलखेल भएका सुनाउँदै काेमलले भन्नभयाे - 'संविधान जारी गर्ने बेला मित्रराष्टका विदेश सचिव आएर रोक्ने कोसिस गर्दा तत्कालीन प्रधानमन्त्रीले मलाई त भन्नुभयो ठिकै छ केपी ओलीलाई मनाउनुस् उहाँले मान्नुहुन्न भन्नुभएको थियाे, त्यतिबेला केपी ओलीको जवाफ थियो - हाम्रो संविधान हामीले बनाउने हो, हामीले बनाएका हौं, यो संविधान जारी हुन्छ भनेर मात्र यो देशमा संविधान जारी भएको हो ।'
जनतामाझ जाने व्यक्ति कदापी तानाशाही नहुने भन्दै उहाँले जनतामा जान डराउने व्यक्तिको भित्रि मनमा मात्र अधिनायकवाद र तानाशाही हुनसक्ने बताउनुभयाे । जनतामाझ जाने कुरा अधिनायकवाद र तानाशाही हो भन्ने कुनै राजनीतिक दर्शनमा नलेखिएकाे उहाँले बताउनुभयाे । वलीले प्रश्न गर्नुभयाे - 'अधिनायकवादीहरु जनतासँग जान्छन् कि बन्दुकसँग ? अधिनायक भएका देशमा व्यक्तिहरु जेलबाहिर हुन्छ की जेलबाहिर ? विचार गरेर बोल्नुपर्छ ।'
सरकार, संसद्, अदालत, निर्वाचन आयोगमाथि शंका गर्नेहरूले नै सरकारलाई सर्वसत्तावादी भनेका उहाँले बताउनुभयाे । 'सरकारमाथि शंका संसद्माथि शंका, अदालतमाथि शंका र निर्वाचन आयोगमाथि शंका, यति धेरै शंका गर्ने ? अनि अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ? यी निकायले निर्णय गर्न सक्छन् भन्ने कुरा नमान्नु नै सर्वसततावाद हो, अदालतमाथि शंका गर्ने र अनावश्यक दबाबमा राख्नु नै सर्वसत्तावाद हो'- वलीकाे भनाइ छ ।
सांसद् ओलीले संविधानको व्याख्या गर्ने जिम्मा अदालतलाई दिएकाले अदालतको निर्णय स्वीकार गर्ने बताउनुभयो । 'प्रतिनिधि सभा विघटन असंवैधानिक हो भन्ने कसैलाई लाग्छ भने त्यसको व्याख्या गर्ने अधिकार अदालतले पाएको छ, अदालतले जे गर्छ हामी सम्मान गर्छौं र स्वीकाछौं'- वलीले भन्नुभयाे ।
सरकारलाई काम गर्न नदिने पार्टीभित्रका नेताहरू नै अहिलेकाे परिस्थितिका जिम्मेवार रहेका वलीकाे भनाइ छ । पार्टीका नेताले पार्टीमा मात्र नभइ सदनमा समेत जनताका पक्षमा फरक मत राख्न नसकेका बताउँदै उहाँले सधै वरियता र पदमा बाहेक केही नेताकाे अरू विषयमा ध्यान नभएकाे बताउनुभयाे ।
'एक जना माननीयले आज भन्नुभयो यो सरकारले गरिबलाई केही गर्न दिएन, दिउँसो उखु किसानलाई न्याय दिएन भनेर भाषण गर्ने, राति मिल मालिकलाई नपक्रनु भनेर मन्त्रीलाई फोन गर्ने नेताज्यूसँग जवाफ छ ?' - वलीले प्रश्न गर्नुभयाे ।
नेताहरूकाे काम सरकारलाई बाटाे देखाउने भएपनि केही नेता सधै पदमा अल्झिएर बस्ने, जनता हाेइन कुर्सीका कुरा मात्र गर्ने र सरकारलाई काम गर्न नदिने खेलमा लाग्दा जनादेशमा जाने निर्णय लिन पुगेकाे उहाँले बताउनुभयाे ।
'स्थायी कमिटी बैठकमा को सोभामा बस्यो कसका कुर्सी कतातिर फर्काएर राखिएको हो भन्ने विषयले देशलाई बन्धक बनाएको हो, उहाँहरुले जिम्मा लिनुपर्छ कि पर्दैन ?'-उहाँकाे प्रश्न छ ।
नेकपा जनताले पत्याएकाे पार्टी भएकाे बताउँदै केपी ओलीकै नेतृत्वमा चुनावी मैदानमा जान उहाँले आग्रह गर्नुभयाे । एक अर्कालाई निषेद गर्नुभन्दा पनि सबै दल आ आफ्ना एजेण्डा लिएर जनतामाझ जानुपर्ने उहाँकाे सुझाव छ ।
