काठमाडाैं । 'सत्य कुरा भन्ने र तथ्यका आधारमा राष्ट्रियताकाे पक्षमा बहस गर्ने भएकाले भारतसँग मलाई जाेडेर धेरै कुरा गरिन्छ'-प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
भारतसँग तथ्यपूर्ण छलफल गरेर सकारात्मक रुपमा मित्रता बढाउन खोजेका कारण नै आफू प्रधानमन्त्री भएका बेला भारतसँगको सम्बन्धबारे बढी चर्चा हुनेकाे प्रधानमन्त्रीले सुनाउनुभयाे ।
राष्ट्रिय सभा बैठकमा बाेल्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'हाम्रो भूमि मिचिएको छ, मिचिएको छ भन्न नसक्ने भित्र भित्रै मन कुड्याउने तर बाहिर ठिकै छ भन्ने होइन, सिमाना मिचिएको छ भने हाम्रा कुरा खुलस्त रुपमा राख्नुपर्छ, मैले यी कुरा खुला रुपमा राख्छु त्यस कारण छलफल हुन्छ ।'
केही मानिसले आफूलाई बढी बोलेर बिगार्याे भनेका सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयाे - 'हाम्रो भूभाग समेटेर नक्सा सार्वजनिक गर्दा सम्बन्ध विग्रिन्छ ? अर्काको भूमि दाबी गर्याे भने मात्र सम्बन्ध बिग्रिन्छ, आफ्नो भूमि दाबी गर्दा सम्बन्ध बिग्रिदैन ।'
५८ वर्षदेखि कालापानीमा भारतीय सेना आएर बस्दा र नेपाली भूभाग नक्साबाट गायब गर्दा कुनैपनि नेपाली शासक बोल्न नसकेका बताउँदै उहाँले भन्नुभयाे - 'हामीले हाम्रो नक्सामा सामेल गर्याैं, मित्रतापूर्ण तथ्यको आधारमा छलफल हुँदैछ, हाम्रो भुभाग फिर्ता लिन्छौँ ।
'लिपुलेक, कालापानी र लिम्पियाधुराकाे जमिन अब नक्सामा मात्र नभई व्यवहारमै सामेल गर्ने बताउँदै उहाँले भन्नुभयाे - 'नक्सामा मात्र होइन, व्यवहारमै हामी भूमि सामेल गर्छाैं ।' नक्सा छापिएपछि संविधान संशोधन गरिएको भन्दै उहाँले निशान छापमा राखेर संविधानको अंग बनाइएपछि कतिपयलाई छटपटि भएकाे बताउनुभयाे ।
१९२८ देखि सारदा नहरबाट भारतमा पानी गइरहने र नेपाली भूमि बाँझै रहने अवस्थाकाे अन्त्य यसअघिका कुनै शासकले गर्न नसकेका बताउनुभयाे । 'हाम्रो खेतको सिरानाबाट पानी जाँदा हाम्रो खेत बाँझै राख्ने, बाेल्न नसकने अनि राष्ट्रवादको कुरा गर्ने ?'
संविधान जारी गर्ने बेला पनि आफूमाथि अनेक प्रहार भएका बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'पहिलो पटक संविधान जारी गर्न लागेवापत, नाकावन्दीको सामना गरे वापत, उत्तरी सिमानाका थुप्रै नाका खालेर अभियान सुरु गरेपछि, विकासका काम तीब्र रुपमा अघि बढाएपछि आत्तिएर त्यस बेला पनि सही गठबन्धन तोडेर अर्कातिर हाम फाल्ने काम भएको थियो ।'
त्यतिबेला पनि सरकारका काम देखेर सहिनसक्नु भएर सरकार ढाल्ने काम भएकाे उहाँले स्मरण गर्नुभयाे । यसपटक पनि सरकारका काम देखेर आलोचना गर्ने ठाउँ खाेजिएकाे प्रधानमन्त्रीले बताउनुभयाे ।
'यस पटक पनि विकासका काम तिब्र रुपमा भइरहेका छन्, तातोपानीको बाटो बन्दै छ, केरुङ, ओलाङचुङगोलाको बाटो बन्दै छ, के भनेर आलोचना गर्ने होला, के भनेर होच्याउने होला, उपलब्धिलाई के भनेर ओझेलमा पार्ने होलो भनेर केही मानिसले ईष्या गर्दै छन्'- प्रधानमन्त्रीकाे भनाइ छ ।
