काठमाडौं । राष्ट्रिय सभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएकाे हाे ।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएकाे छ । बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
आज बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको ब्यहोरा पढेर पढेर सुनाउनुभयाे । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त अनुसार आज राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने उहाँले जानकारी दिनुभयाे ।
पुस १७ गतेदेखि सुरु भएकाे राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ वटा बैठक बसेका थिए । ती बैठकमा ७ वटा अध्यादेश पेस भएका उहाँले जानकारी दिनुभयाे । याे अधिवेशनमा नवनियुक्त राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेस भएको तिमिल्सिनाले जानकारी दिनुभयाे ।
आजकाे राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्नुभएकाे थियाे । बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६-०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६-०७७’ पेस गर्नुभयाे ।
प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन गरिएको थियो ।
