काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुकाे भित्री कथा राष्ट्रिय सभामा सुनाउनु भएकाे छ ।
राष्ट्रिय सभाकाे आज बसेकाे बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सरकार चल्न नदिनका लागि भएका कैयाैं दुष्प्रयास सुनाउनुभयाे ।अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन, जालझेल, गठजोड, तिगडम र षड्यतन्त्रबाट ६-६ महिनामा प्रधानमन्त्री फेर्ने अवस्थातिर देशलाई धकेल्न खोजिएकाले प्रतिनिधि सभा विघटन जस्तो अप्रिय कदम चालिएको उहाँले बताउनुभयाे ।
देशलाई ध्वस्त बनाउने केही मानिसकाे चलखेल र अस्थिरताकाे प्रयासलाई विघटनबाट राेकिएकाे उहाँले बताउनुभयाे । 'गुट बैठक र भेला राखेर देशलाई अस्थिरतातर्फ लैजान खोजिएको थियो, त्यसैले प्रतिनिधि सभा भंग गरेर ताजा जनादेशमा गएका हौं', उहाँले भन्नुभयाे ।
संसद्लाई पनि प्रभावकारी रुपमा काम गर्न नदिइएको प्रधानमन्त्रीको गुनासो छ । 'संसद्लाई प्रभावकारी रुपमा काम गर्न दिइएन, प्रणाली र संविधान नै बेठीक भयो भनेर निष्कर्ष निकाल्न खोजियो', उहाँले भन्नुभयो, 'मैले धेरै प्रयास र कोसिस गरेको हो, भरसक पाँच वर्ष सरकार टिकाउन खोजिएको हो ।'
देशमा आएको संकट अन्त्यका लागि समय भन्दा अगावै प्रतिनिधि सभाको नयाँ निर्वाचनमा जाने तयारी गर्नुपरेको प्रधानमन्त्रीले बताउनुभयो। 'हामीले सोचेका थियौँ कि प्रतिनिधि सभा पाँच वर्ष चल्ने छ र यसमा बिना विग्रह प्रतिनिधि सभाले आफूलाई लगातार देश र जनताको सेवामा, संविधानको रक्षा.कार्यान्वय, संघीय व्यवस्थाको रक्षा र कार्यान्वयनमा विना व्यवधान काम गर्न पाउने छ, तर त्यसो हुन दिइएन'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री ओलीले नेकपाकै केही नेताले सरकारलाई काम गर्न नदिएको बताउनुभयाे । सरकार ढाल्न देशी-विदेशी शक्ति मिलेर सकेकाे प्रयास गरिएपनि त्याे प्रयास असफल पारिएकाे उहाँले बताउनुभयाे ।
सरकारविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा २ सय ८० वटा बैठक बसेको प्रधानमन्त्रीले खुलासा गर्नुभयाे । वैशाख १३ देखि पुस ४ गतेसम्मका २ सय ८० वटा गुट बैठक बसेका बताउँदै उहाँले भन्नुभयाे - 'एउटै नेताको घरमा ३५ वटा बैठक अन्यत्र बसेका रहेछन्, दुई तीन जना नेता बसेको बैठकको हिसाब छैन ।'
जनताले माया गरेर बहुमत दिए पनि जालझेल र षडयन्त्र गरेर नेकपाकै नेताले कामै गर्न नदिएकाे उहाँले बताउनुभयाे । केही व्यक्तिका व्यक्तिगतका आकांक्षा महत्वकांक्षाले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोजिएकाे उहाँकाे भनाइ छ । देशलाई अगाडि बढ्न नदिएर बहुमतलाई खण्डित गर्ने खेलमा लागिएकाे उहाँले सुनाउनुभयाे ।
