काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट सकिँदै छ । आजको राष्ट्रिय सभा बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राति १२ बजेबाट अधिवेशन अन्त्य हुने राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।
पुस १७ गते शुक्रबार बोलाइएको बैठक १० दिन पछि अन्त्य गरिएको छ । १० दिनको अवधिमा ४ वटा बैठक भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । यस पटकको हिउँदे अधिवेशन ७ घण्टा ५ मिनेट चलेको पनि उहाँले सभामा जानकारी दिनुभयो ।
बैठकमा सात वटा अध्यादेश पेश भएका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । बैठकमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षण सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाव तथा अन्य घातक रसायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसा विरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेश भएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका सांसद् बामदेव गौतमलाई राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिमा छनौट गरिएको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा विभिन्न शोक प्रस्तावहरु पारित गरिएको तथा प्रधानमन्त्रीले समेत सम्बोधन गर्नुभएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।
यस अघि राष्ट्रिय सभाको विशेष समयको लागि छुट्याइएको समय यो अधिवेशनमा थप गरिएको पनि उहाँले जानकारी दिनुभयो । यस अघि विशेष समयको लागि राष्ट्रिय सभामा एक घण्टा समय छुट्याउने गरिएकोमा यो अधिवेशनमा १ घण्टा ४५ मिनेट समय छुट्याइएको थियो ।
अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
