काठमाडौं । प्रदेश-१ सरकारविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा सांसद् मूलधारमा फर्कने क्रम जारी छ ।
प्रदेश-१ मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएका थप तीन जना सांसद् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको मूलधारमा फर्कनु भएको हो ।
प्रदेश-१ को सामाजिक विकास राज्यमन्त्रीबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले आज हस्ताक्षर फिर्ता लिने निर्णय गर्नुभएको छ । उहाँहरु तीनै जना झापाबाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
नेकपाकै सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नभएकोले प्रस्ताव फिर्ता लिएको उहाँहरुको पत्रमा उल्लेख छ । ‘नेकपाकै सरकार विरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं, तसर्थ उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यहोरा सामुहिक निवेदन मार्फत अनुरोध गर्दछौं’, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा ३७ जना सांसद्ले हस्ताक्षर गर्नुभएको थियो । यसअघि दुई जना र आज तीन जना सांसद्ले हस्ताक्षर फिर्ता लिनुभएको छ। यसअघि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी सांसद् बसन्तदेवी यादव पनि मूलधारमा फर्कनु भएको थियो ।
उदयपुरबाट निर्वाचित सांसद् कला घले पनि प्रचण्ड समूह छाडेर पार्टीको मूलधारमा फर्कनु भएको थियो । योसँगै प्रदेश १ मा प्रचण्ड समुह कमजोर बन्ने देखिएको छ ।
प्रदेश-१ को प्रदेश सभामा ९३ जना सदस्य छन् । तीमध्ये नेकपाका ६७ सांसद् छन् । नेपाली कांग्रेसका २१, समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद् छन् ।
अविश्वास प्रस्ताव पास हुन ४७ सांसद् आवश्यक पर्दछ । त्यो संख्या प्रचण्ड समूहसँग छैन ।
