काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक स्थिरताका लागि जिम्मेवार हुन प्रदेश सभा सदस्यलाई आग्रह गर्नुभएको छ ।
बुधबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सबैलाई जनता प्रति उत्तरदायी र जिम्मेवार हुन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले तीन वर्षमा आर्थिक समृद्धिका विभिन्न कार्यक्रम गरेको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाको निर्माण गर्ने काम समेत प्रारम्भ गरेको उहाँले बताउनुभयाे ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपाको फुट राष्ट्रकाे हितमा नभएको बताउनुभयो । उहाँले नेकपालाई फुटको संघारबाट जोगाउनुपर्ने बताउनुभयो । बानियाँले नेपालको राजनीतिमा वाह्य हस्तक्षेप बढेको बताउनुभयो ।
नेपालका राजनीतिक दललाई वाह्य शक्तिले फुटाउन सक्ने भन्दै उहाँले समयमा नै सबै दल सचेत हुनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन संविधानको मर्म विपरितकाे काम भएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षाकै लागि कांग्रेस सडकमा जानुपरेको उहाँको भनाइ छ ।
बैठकमा प्रचण्ड समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले संघ र प्रदेश सरकारबीच सहकार्य नभएको बताउनुभयो । नेकपाका नेता देश र जनताप्रति जिम्मेवार नहुँदा जनतामा वितृष्णा जागेको उहाँको भनाइ छ ।
राप्रपाका सांसद रिना गुरुङले दलहरु सत्ताको खेलमा लाग्दा अहिलेको अवस्था आएको बताउनुभयो । सोही पार्टीकी रिता माझीले हिन्दू सनातन धर्मको मुद्दालाई लिएर जनतामाझ जानुपर्ने बताउनुभयो । नेपाल मजदूर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाइले संघीय सरकार र प्रदेश सरकार जनताप्रति जवाफदेही हुन नसकेको बताउनुभयो । प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
