काठमाडौं । वाग्मती प्रदेश सभाको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो कुराको जानकारी दिएको हो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माथि छलफल हुने छ । यस अघिको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि सामान्य छलफल भई बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्री पौडेल विरुद्ध नेकपाकै सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रचण्ड समूहका सांसद्ले दर्ता गराएको सो प्रस्तावको सरकारले सामना गर्ने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
उहाँले प्रस्ताव दर्ता गराउनेहरुसँग सरकारका विरुद्ध अविश्वासका प्रस्ताव पास गर्न पुग्ने मत नरहेको उहाँले दाबी गर्नुभयो । उनीहरुलाई कांग्रेसले साथ नदिए प्रस्ताव पास नहुने ढुंगेलको भनाइ छ । कांग्रेसले अस्थिरता निम्त्याउने सो कार्यमा साथ नदिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीका दुई र स्वतन्त्र एक गरी १ सय १० जना सांसद् छन् । सरकार विरुद्ध अविश्वासको प्रस्ताव पास गर्न ५६ जना सांसद् चाहिन्छ ।
