काठमाडौं । वाग्मती प्रदेशको आज बोलाइएको प्रदेश सभा बैठक फागुन ५ गतेको लागि सरेको छ । बैठक आज दिउँसो २ बजे बोलाइएको थियो ।
प्रदेश सभा सचिवालयले आइतबार साँझ सूचना जारी गरी बैठक सरेको जानकारी दिएको छ । प्रदेश सभा सचिव कृष्णहरि खड्काले जारी गरेको सूचनामा विशेष कारणले बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पौडेल विरुद्ध नेकपाकै सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश सभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीका दुई र स्वतन्त्र एक गरी १ सय १० जना सांसद् छन् । सरकार विरुद्ध अविश्वासको प्रस्ताव पास गर्न ५६ जना सांसद् चाहिन्छ ।
