काठमाडौ । प्रदेश-१ को प्रदेश सभा बैठक आज बस्दै छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले सूचना निकालेर आजका लागि बैठक बाेलाइएकाे जानकारी दिनुभएकाे हाे । दाेस्राे अधिवेशनकाे दाेस्राे बैठक माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने सूचनामा उल्लेख छ ।
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड समूहका सांसद्ले अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् । आजकाे बैठकमा साेही प्रस्ताव टेबुल हुन सक्ने बताइएकाे छ । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा सुरूमा ३७ जना सांसद्ले हस्ताक्षर गरेका थिए । तीमध्ये ३ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रदेश-१ काे प्रदेश सभामा ९३ सांसद् छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १-१ जना सदस्य छन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल र असफल बनाउन ४७ जना सांसद्को समर्थन आवश्यक हुन्छ ।
यसअघि माघ ७ गते हिँउदे अधिवेशनको पहिलाे बैठक बसेर प्रदेश सभा बैठक अनिश्चितकालका स्थगित भएको थियो । बैठकको सुरुमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख सोमनाथ प्यासीको पत्र पढेर सुनाउनुभएपछि बैठक स्थगित भएकाे थियाे ।
