काठमाडाैं । प्रदेश- १ को प्रदेश सभा बैठक आज बस्दैछ ।
हिँउदे अधिवेशनको तेस्राे बैठक दिउँसाे २ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । यसअघि गत माघ २५ गते केहीबेर बसेर स्थगित भएकाे थियाे ।
प्रचण्ड समूहका सांसद्ले मुख्यमन्त्री राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासकाे प्रस्ताव दर्ता गराएका छन् । साे प्रस्ताव प्रदेश सभामा पेस भएपछि छलफल सुरू हुनेछ । आजकाे बैठक स्थगित नभए प्रदेश अविश्वासकाे प्रस्तावमाथि छलफल हुन सक्ने बताइएकाे छ ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा सुरूमा ३७ जना सांसद्ले हस्ताक्षर गरेका थिए । तीमध्ये ३ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रदेश-१ काे प्रदेश सभामा ९३ सांसद् छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १-१ जना सदस्य छन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल वा असफल बनाउन ४७ जना सांसद्को समर्थन चाहिन्छ ।
यसअघि माघ ७ गते हिँउदे अधिवेशनको पहिलाे बैठक बसेकाे थियाे ।
