काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक आइतबार केहीबेर बसेर स्थगित भएकाे छ ।
सरकार पक्ष नै सहभागी नभएकाे प्रदेश सभा बैठक मुख्यमन्त्री शेरधन राईविरूद्धकाे अविश्वास प्रस्ताव पेस गरेर स्थगित भएकाे हाे । अर्काे बैठक फागुन २० गते बस्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रचण्ड समूहका सांसद् इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएकाे हाे । आङ्बो मुख्यमन्त्री राईले निलम्बन गर्नुभएका सांसद् हुनुहुन्छ ।
कार्यव्यस्तताका कारण आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई गराउनु भएकाे थियाे । तर सरकार पक्षबिनै बैठक बस्याे । बैठकमा सत्तारूढ नेकपामा सांसद् सहभागी थिएनन् ।
प्रचण्ड समूहका सांसद्काे दबाबका कारण बसेकाे बैठक ५ मिनेटमै सकिएकाे बताइएकाे छ । आजकाे बैठकमा अविश्वासकाे प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियाे ।
यसअघि गत माघ २५ गते केहीबेर बसेर बैठक स्थगित भएकाे थियाे । प्रचण्ड समूहका सांसद्ले मुख्यमन्त्री राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए । साे प्रस्ताव प्रदेश सभामा पेस भएकाे हाे ।
मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा सुरूमा ३७ जना सांसद्ले हस्ताक्षर गरेका थिए । तीमध्ये ३ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रदेश-१ काे प्रदेश सभामा ९३ सांसद् छन् । जसमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १-१ जना सदस्य छन् । प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल वा असफल बनाउन ४७ जना सांसद्को समर्थन चाहिन्छ ।
यसअघि माघ ७ गते हिँउदे अधिवेशनको पहिलाे बैठक बसेकाे थियाे ।
