काठमाडौं । आजदेखि सांसद्हरूलाई काेराेना भाइरस (काेभिड-१९) विरूद्धकाे खाेप लगाईंदैछ ।
सरकारले काेराेनाविरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसद्काे दुबै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद्हरूलाई दिन लागेकाे हाे । काेराेनाविरूद्धकाे खाेप अभियानकाे दाेस्राे चरण फागुन २३ देखि सुरू हुँदैछ । तर प्रतिनिधि सभा बैठक पनि फागुन २३ देखि नै सुरू हुने भएकाले त्यसअघि नै सांसद्हरूलाई खाेप दिन लागिएकाे हाे ।
बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खाेप अनिवार्य लगाउनुपर्ने नियम बनाइएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । संसद भवन नजिकै रहेको नेपाल निजामती अस्पतालमा संसद् सचिवालयका कर्मचारी, मर्यदापालक र सांसद् तथा मन्त्रीका अंगरक्षकसहितलाई समेत खोप लगाइनेछ । आजदेखि ३ दिनभित्र सांसद्हरूलाई खाेप लगाउने कार्यतालिका छ ।
सरकारले माघ १४ गतेदेखि काेराेनाविरूद्धकाे खाेप अभियान चलाइएकाे छ । पहिलाे चरणमा दुई पटक गरेर खाेप लगाइसकिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाेस्राे चरणमा फागुन २३ देखि ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई खाेप दिइनेछ । अशक्त जेष्ठ नागरिकलाई घरमै गएर खाेप दिने व्यवस्था पनि मिलाइने मन्त्रालयले जनाएकाे छ ।
सरकारले २० लाख डाेज काेभिशिल्ड खाेप भारतसँग किनिसकेकाे छ । थप ५० लाख डाेज खाेप किन्ने प्रक्रिया सुरू भइसकेकाे छ । सरकारलाई भारतले १० लाख डाेज काेभिशिल्ड खाेप अनुदान स्वरूप माघ ८ मा दिएकाे थियाे । साेही खाेप माघ १४ देखि पहिलाे प्राथमिकतामा परेकालाई लगाइएकाे हाे । चीनले पनि अनुदानस्वरूप नेपाललाई ८ लाख डाेज भेराे सेल खाेप दिने घाेषणा गरिसकेकाे छ ।
