काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद्लाई बुधबार कोरोना विरुद्धको खोप लगाईँदै छ ।
संघीय सांसद् सचिवालयले एक सूचना जारी गरी सांसद् र अन्य कर्मचारीलाई सिभिल अस्पताल नयाँवानेश्वरमा खोप लगाउन अनुरोध गरेको छ । खोप बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ ।
बुधबार सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सांसद्लाई खोप लगाइने छ । त्यस्तै संसद् सचिवालयका महासचिव, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिव, कार्यव्यवस्था शाखा र सांसद् सुविधा शाखामा काम गर्ने कर्मचारीलाई पनि बुधबारै खोप लगाइने छ ।
यसैगरी सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका निजी सचिवालयमा कार्यरत कार्मचारीलाई पनि आजै खोप लगाइने छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनका कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारले पनि आजै खोप लगाउने छन् ।
संघीय सांसद् सचिवालयका सबै कर्मचारीलाई भने बिहीबार खोप लगाइने छ । यसका साथै स्वकीय सचिव, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेक जाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि बिहीबार खोप लगाइने छ ।
शुक्रबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा काम गर्ने सबै कर्मचारी र छुटफुट भएकालाई खोप लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । खोप सबैलाई सिभिल अस्पतालमा नै लगाइने छ ।
प्रतिनिधि सभा बैठक पनि फागुन २३ देखि सुरू हुने भएकाले त्यसअघि नै सांसद्लाई खाेप दिन लागिएकाे हाे ।
