काठमाडाैं । सांसद्हरूले काेराेना (काेभिड-१९) विरूद्धकाे खाेप लगाएका छन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद्हरूले आजदेखि खाेप लगाउन थालेका संघीय संसद् सचिवालयले जनाएकाे छ । सांसद्हरूले नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पताल पुगेर खोप लगाएका हुन् ।
आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सभामुख अग्निप्रसाद सापकाेटा, पुष्पकमल दाहाल प्रचण्ड,माधव कुमार नेपाल लगायत सांसद्ले खाेप लगाउनु भएकाे छ ।
काेराेनाविरूद्धकाे खाेप अभियानकाे दाेस्राे चरण फागुन २३ देखि सुरू हुँदैछ । तर सरकारले प्रतिनिधि सभा बैठक पनि फागुन २३ देखि नै सुरू हुने भएकाले त्यसअघि नै सांसद्हरूलाई खाेप लगाउन थालेकाे हाे ।
बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खाेप अनिवार्य लगाउनुपर्ने नियम बनाइएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । संसद् सचिवालयका कर्मचारी, मर्यदापालक र सांसद् तथा मन्त्रीका अंगरक्षकसहितलाई समेत खोप लगाइनेछ । आजदेखि ३ दिनभित्र सांसद्हरूलाई खाेप लगाउने मन्त्रालयले जनाएकाे छ ।
