काठमाडाैं । अहिलेसम्म २ सय २५ जना सांसद्हरूले काेराेना भाइरस (काेभिड-१९) विरूद्धकाे खाेप लगाएका छन् ।
बुधबार १ सय ६५ र बिहीबार ६० जना गरेर २ सय २५ जना सांसद्ले खाेप लगाएका हुन् । अहिलेसम्म सांसद्सहित संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक लगायत ९ सय ७२ जनाले खोप लगाएका बताइएकाे छ ।
आज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,राष्ट्रिय सभा सदस्य वामदेव गाैतम लगायत सांसद्ले खाेप लगाउनुभएकाे संसद् सचिवालयले जनाएकाे छ ।सरकारले काेराेनाविरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसद्काे दुबै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद्हरूलाई खाेप लगाएकाे हाे ।
काेराेनाविरूद्धकाे खाेप अभियानकाे दाेस्राे चरण फागुन २३ देखि सुरू हुँदैछ । तर प्रतिनिधि सभा बैठक पनि फागुन २३ देखि नै सुरू हुने भएकाले त्यसअघि नै सांसद्हरूलाई खाेप दिइएकाे हाे । शुक्रबारसम्म सबै सांसद् र सचिवालयका कर्मचारीलाई खाेप लगाइने तालिका छ ।
बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खाेप अनिवार्य लगाउनुपर्ने नियम बनाइएकाे संसद् सचिवालयले जनाएकाे छ ।
