काठमाडौं । संसद् सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले शनिबार कार्यसूचि सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको कार्यसूची अनुसार आइतबारको बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
कार्यसूचीको तेस्रो नंम्बरमा सभामुखले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७७ पेश गुर्नुहुने कार्यक्रम रहेको छ ।
यसैगरी गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाव तथा अन्य घातक रसायन पदार्थ (नियमन) अध्यादेश २०७७ पनि भोलिको बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।
भोलिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश २०७७ पनि पेश गर्नुहुने छ ।
यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७ पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकको अन्त्यमा विभिन्न शोक प्रस्ताव पारित गर्दै भोलिको बैठक सकिने संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षर गरी जारी गरेको कार्यसूचिमा उल्लेख छ ।
