काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएकाे हाे ।
प्रतिनिधि सभा पुर्नस्थापनापछि पहिलाे पटक बैठक बस्न लागेकाले निक्कै चासाेसाथ हेरिएकाे छ। संघीय संसद् सचिवालयले बैठककाे सम्भावित कार्यसूची शनिबार नै सार्वजनिक गरिसकेकाे छ ।
कार्यसूची अनुसार आजको बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
कार्यसूचीको तेस्रो नम्बरमा सभामुखले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७७ पेस गुर्नुहुने कार्यसूची छ ।
गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाव तथा अन्य घातक रसायन पदार्थ (नियमन) अध्यादेश २०७७ पनि भोलिको बैठकमा पेस गर्ने कार्यसूची छ ।
भोलिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ पनि पेस गर्नुहुने छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७७, यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७ पनि बैठकमा पेस गर्ने कार्यसूची छ ।
बैठकको अन्त्यमा विभिन्न शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
