काठमाडौं । प्रतिनिधि सभा बैठकमा छलफल हुने एजेण्डा बनाउने प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठक बस्न नसके पछि आजको प्रतिनिधि सभा बैठक छोट्टिने भएको छ ।
आज चार बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो ।
यसैगरी सभामुखले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको थियो । त्यस्तै सरकारको तर्फबाट विभिन्न अध्यादेश पेश गर्ने र विभिन्न शोक प्रस्ताव पास गर्ने कार्यसूची आजको बैठकमा रहेको थियो ।
सभामूख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक नै राख्न नसकेको कारण आजको बैठक राष्ट्पति कार्यालयबाट प्राप्त पत्र र शोक प्रस्ताव मात्र पास गरेर टुङ्ग्याउन लागिएको हो । हिजो तयार गरिएको कार्यसूचीमा सामान्य हेरफेर गरिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सनराइज खबरलाई जानकारी दिनुभयो ।
