काठमाडाैं । प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्हरूकाे विराेधका कारण १० मिनेटका लागि स्थगित भएकाे बैठक सूचना टाँसेर स्थगित गरिएकाे हाे । अब अर्काे बैठक फागुन २६ गते १ बजे बस्नेछ ।
सरकारले अध्यादेश पेस गर्ने कार्यसूची राखेकाे भन्दै प्रचण्ड समूहले आज बसेकाे बैठककाे सुरूमै विराेध जनाएकाे थियाे । शाेक प्रस्ताव पारित गर्नुपर्नेमा अध्यादेशकाे कार्यसूची राखेकाे भन्दै साे समूहले विराेध जनाएकाे थियाे । सभामुखले मन्त्रीहरू नियुक्ति सम्बन्धी पत्र पढ्दै गर्दा प्रचण्ड समूहका सांसद् बैठक कक्षबाट बाहिरिएका थिए ।
सभामुखले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्ने कार्यक्रम अगाडि बढाए लगत्तै कांग्रेस सांसद् उठेर विराेध गरे । कांग्रेस सांसद् पुष्पा भुसालले संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्नुभयाे । त्यसपछि सभामुखले ध्यानाकर्षण भयाे भनेर बैठक अगाडि बढाउन खाेज्दा कांग्रेसले फेरि विराेध गर्याे । कांग्रेस सांसद् बालकृष्ण खाँडले अध्यादेश फिर्ता गर्न माग गर्नुभयाे ।
कांग्रेसकै विराेधबीच प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले साे अध्यादेश पेस गर्नुभयाे । त्यसपछि कांग्रेस सांसद्ले राेष्टम घेरेर नाराबाजी गरेर बैठक अगाडि बढ्न दिएनन् । सभामुख सापकाेटाले १० मिनेटका लागि बैठक स्थगित भएकाे घाेषणा गर्नुभयाे । साे अवधिमा सहमति नभएपछि सभामुखले सूचना टाँसेर २६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
