काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज सामाजिक सुरक्षा (पहिलाे संशाेधन) सहित ७ वटा अध्यादेश पेस हुने भएका छन् ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेकाे कार्यसूची अनुसारआज दिउँसाे १ बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले ३ वटा अध्यादेश पेस गर्नुहुनेछ । उहाँले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्नुहुने कार्यसूची छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेस गर्नुहुने कार्यसूची तय भएकाे संसद् सचिवालयले छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि ३ वटा अध्यादेश पेस गर्नहुने कार्यसूची तय छ । उहाँले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।
आजकाे बैठकमा १४ जना सांसद्काे निधनमा शाेक प्रस्ताव पारित गरिने कार्यसूची समेत तय भएकाे छ ।
यसअघि फागुन २३ गते बसेकाे पुर्नस्थापित प्रतिनिधि सभाकाे बैठकमा कांग्रेसकाे अवराेधबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस भएकाे थियाे ।कार्यसूचीमा अध्यादेश समावेश गरेको भन्दै प्रचण्ड समूहका सांसदले पनि बैठक बहिष्कार गरेका थिए ।
सर्वाेच्चकाे फागुन २३ काे फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । आज बस्ने बैठकमा पुरानै पार्टीकाे हैसियतमा दुबै पार्टीका सांसद् उपस्थित हुनेछन् ।
