काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले रेशम चौधरीको मुद्दालाई सत्ता समीकरणको विषय बनाउन नहुने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता यादवले सो मुद्दालाई सत्ता समीकरणसँग जोड्नु गलत भएको बताउनुभएको हो । ‘रेशम चौधरीको मुद्दा राजनीतिक लेनदेनको विषय होइन, त्यो थारुहट आन्दोलन थियो’, यादवले भन्नुभयो ।
चौधरीलाई सरकारले राजबन्दीको मान्यता दिनु पर्ने र सो मुद्दालाई राजबन्दीको मुद्दाको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । थारु भएकै कारण थारुहट आन्दोलनका नेता जेलमा बस्नुपर्ने विडमम्बनापूर्ण अवस्था रहेको उहाँले बताउनुभयो । ‘उहाँको रिहाइमा सरकारले चाँडो निर्णय लिनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले जसपा सहमतिको राजनीतिको पक्षधर भएको पनि प्रष्ट पार्नुभयो । जसपाले सहमतिको राजनीतिलाई अघि बढाउन चाहेको उहाँले बताउनुभयो ।
नेता यादवले जसपा कुनैपनि हालतमा नफुट्ने भन्दै पार्टी कसैको स्वार्थमा नचल्ने बताउनुभयो । हामी एकढिक्का छौँ, कसैको लोभलालचमा फस्नेवाला छैनौँ’, उहाँले भन्नुभयो ।
