काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हारेर पनि जिताहा शासक जस्तो भएर हिँडेको माओवादी केन्द्रले आरोप लगाएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद् पम्फा भुसालले ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको आरोप लगाउनुभयो ।
राजनीतिमा नैतिकता हुने र यसको मूल्य पनि हुने पम्फाको भनाइ छ । यसअघिका कानुनमन्त्री र सञ्चारमन्त्रीले राजीनामा दिएको तर ओलीले ११ गतेपछि राजीनामा दिनुपर्नेमा नदिएको पम्फाले बताउनुभयो ।
‘ओली नेतृत्वकै सरकारका कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा प्रशंगवस एउटा मात्र गलत शब्द प्रयोग गर्दा नैतिकताको पाठ पढाएर राजीनामा दिन लगाइएको थियो, अर्का एउटा मन्त्रीलाई सुरक्षा प्रेस सम्बन्धी अडियो सार्वजनिक भएपछि दिन लगाइएको थियो, मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीनिक नैतिकताको पालना गरिने छ भनेर, अहिले पनि बडो जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आज आम नागरिकमा के पर्छ होला ?’– पम्फाको प्रश्न छ ।
प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीको नामा इतिहासमा काला अक्षरमा लेखिने गम्भीर आरोप पनि पम्फाले लगाउनुभयो । विघटन सही थियो भनेर गतल कामको पुष्टि गर्नुभन्दा सच्चिएर अगाडि बढ्न पनि उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । अलिकति आलोचना सहन समेत प्रधानमन्त्रीलाई पम्फाको सुझाव छ ।
दुई तिहाइको धान देखाएर जनतामा भ्रम नछर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै पम्फाले भन्नुभयो – ‘चुनाव चुनाव नगर्नुस्, अहिलेको निर्वाचन प्रणालीमा बहुमत आउँदैन, दुईतिहाइको भ्रम छरेर लाज छोप्ने कुरा नगर्नुस् ।’ सभामुखलाई गाली गर्दै हिँड्ने गरिएको पनि उहाँले आराेप लगाउनुभयो ।
आफूहरुले एसिडसम्बन्धी नभएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेशकाे विराेध गरेकाे भुसालले बताउनुभयाे ।
