काठमाडौं । जसपा सांसद् लक्ष्मणलाल कर्णले वायु प्रदूषण नियन्त्रणका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता कर्णले भन्नुभयो – ‘प्रदूषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अपनाउनुपर्छ, तत्काल जनताको रक्षाका लागि तयार हुनुपर्छ ।
प्रदूषण बढेपछि सरकारले घरबाहिर ननिस्कनु भनेकोमा आपत्ति जनाउँदै सांसद् कर्णले घरभित्र थुनिएर काम नचल्ने बताउनुभयो । ‘घरमा बसेर जनताको जीवन चल्न सक्दैन, यो त कस्तो भयो भने एउटा डाक्टर कहाँ गएर रोगीले के भने भने मैले सास फेर्दा त दुख्दो रहेछ, डाक्टरले बढो सजिलो उपाय बताइदियो, सास फेर्न बन्द गरिदिनु दुखाइ कम भइहाल्छ, त्यसैले घरमा बसेर समस्या समाधान हुँदैन, सरकारले कुनै न कुनै उपाय खोज्नुपर्छ’– कर्णको भनाइ छ ।
कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको भन्दै सांसद् कर्णले यसमा पनि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै जनतालाई कोरोना खोप लगाउनुपर्ने बताउनुभयो ।
सांसद् कर्णले म्यानमार सैन्य कू को विरोधमा नेपालले पनि बोल्नुपर्ने बताउनुभयो । सांसद् कर्णले म्यानमारको नरसंहारसँग मधेस आन्दोलनलाई तुलना समेत गर्नुभयो । म्यानमारमा जस्तै मधेस आन्दोलनका बेला प्रशासनले छाती र टाउकोमा गोली हानेको कर्णले स्मरण गर्नुभयो ।
