काठमाडौं । एमाले सांसद् नारायणप्रसाद खतिवडाले नुवाकोटको सिसडोलबासीको माग सम्वोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् खतिवडाले भन्नुभयो – ‘०६२ सालदेखिको सिसडोलवासीको माग सम्वोधन भएको छैन, उनीहरुको माग सम्बोधन गरी फोहोर व्यवस्थापनलाई अविलम्व सुचारु गर्न सरकारसँग माग गर्दछु ।’
नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेकोप्रति आफ्नो समर्थन रहेको पनि उहाँले बताउनुभयो । स्थानीयका माग पूरा गरी फोहोर व्यवस्थापनको काम अगाडि बढाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
यसअघि गरिएको सहमति कार्यान्वयन नभएको भन्दै फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले चैत्र १३ गते देखि नै आन्दोलन गरिरहेको छ । आफूहरुसँगको सहमति कार्यान्वयन नभएको काठमाडौंको फोहोर सिसडोलमा व्यवस्थापन गर्न त्यहाँका स्थानीयले दिइएका छैनन् । सहमति कार्यान्वयन नभएसम्म काठमाडौंको फोहोर फाल्न नदिइने उनीहरुको अडान छ ।
