काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन बुधबारबाट सुरु भएको छ । पहिलो दिनको बैठकमा बोल्ने सांसद्ले सहयोग र सहकार्यलाई निरन्तरता दिएर अघि बढ्न सुझाव दिनुभएको छ ।
बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विगतका कामको समीक्षा गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । विगतमा प्रदेश सभा जसरी सहमतिका साथ अघि बढ्यो त्यसलाई निरन्तरता दिएर जानु पर्नेमा उहाँले जोड दिनुभयो । ‘सहमति र सहकार्यको बाटोलाई रोजेर विगतका हाम्रा तीन वर्ष बितेका छन्’, उहाँले बैठकमा स्मरण गराउनुभयो ।
प्रदेशको विकासका काम सबै दल मिलेर अघि बढाएको उहाँको भनाइ छ । कोभिड नियन्त्रणमा समेत सहयोग र सहकार्यले सफलता प्राप्त भएको उहाँले बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले कम्युनिष्ट पार्टीमा पद, प्रतिष्ठा र व्यक्तिवादी चरित्रको कारण लोकतन्त्र नै संकटमा परेको बताउनुभयो । उहाँले प्रजातन्त्रको लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले माओवादीलाई सत्तामा पनि बस्ने सरकारको विरोध पनि गर्ने कार्य नगर्न सुझाव दिनुभयो । माओवादीलाई सुझाव दिँदै उहाँले भन्नुभयो,‘ तपाईहरु कित्ता स्पष्ट गरेर आउनुहोस्,’
बैठकमा नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले राजनीतिक अस्थिरताको समस्या नेपालमा निरन्तर चल्दै आएको बताउनुभयो । ‘जटिल धरातलमा उभिएर राजनीतिक अस्तित्वको पाइलाहरु चाल्नुपर्ने भएको छ’, उहाँले भन्नुभयो ।
उहाँले सल्लाह गरेरै अघि बढ्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । समविकासको नीति अवलम्बन गरेर अघि बढ्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डे गलत तरिकाले व्याख्या गरेर जसपाका नेता तथा सांसद्लाई जेलमा राखिएको बताउनुभयो । जनताको मतबाट जितेका सांसद्लाई सरकारले छाड्ने प्रक्रिया सुरु गर्दा गलत अर्थ नलगाउन आग्रह गर्नुभयो । माग पूरा गर्ने दलसँग जसपा मिलेर जाने उहाँले प्रष्ट पार्नुभयो ।
पाण्डेले कोरोनाको कारण बन्द रहेका नेपाल भारत नाका सञ्चालन गरेर जनजीवन सामान्य बनाउनु पर्नेमा जोड दिनुभयो । यसैगरी ठप्प रहेको होटल र पर्यटनलाई सहज बनाउन पनि आवश्यक कदम चाल्नु पर्ने उहाँले बताउनुभयो ।
निजामती र प्रदेश प्रहरी ऐनलाई पनि अघि बढाउन पनि उहाँले सरकारसँग माग गर्नुभयो ।
बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद् तारा जीसीले सत्ताको लुछाचुँडीमा नलाग्न राजनीतिक दललाई आग्रह गर्नुभयो । जनताले विघटित नेकपालाई पाँच वर्ष सरकार चलाउन अनुमति दिएकोले पूरा समय सरकार चलाउन उहाँले सुझाव दिनुभयो । उहाँले सरकारले जनताका सामान्य आवश्यकता पनि पूरा गर्न नसकेकोले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
