काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा जस्तासुकै घटना घटे पनि लुम्बिनी प्रदेशको सहकार्य संस्कृतिमा कुनै प्रभाव नपार्ने बताउनुभएको छ ।
राष्ट्रिय राजनीतिका सन्दर्भमा राजनीतिक दलका नेताहरुको आआफ्नै दृष्टिकोण रहने भएकोले ती कुरा प्रकट हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । तर त्यसको विवादमा प्रदेशलाई पार्नु नहुनेमा उहाँले जोड दिनुभयो । ‘प्रदेशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने कुराका सन्दर्भमा, सुशासन तर्फ अगाडि बढाउने सन्दर्भमा मिलेरै काम गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।
संघीयताको अभ्यासमा नयाँ नै भएकाले पनि अहिलेको प्रदेश सभाको भूमिकालाई दुरगामी रुपमा पार्ने प्रभावसँग जोडेर हेर्नु पर्ने उहाँले बताउनुभयो । पहिलो प्रदेश सभा भएकाले यसले जे मान्यता स्थापित गर्छ भविष्यमा पनि त्यही हिसाबले अघि बढ्ने उहाँले बताउनुभयो ।
प्रदेश राजधानी देउखुरीमा स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उहाँले जानकारी दिनुभयो । त्यसका लागि प्रदेश पूर्वाधार प्राधिकरण ऐन सदनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
